दाङको तुलसीपुर क्षेत्रमा चोरीका घटनामा बढेका छन्।
गत वर्ष तुलसीपुर क्षेत्रमा कुल २३ वटा चोरी सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष भदौ यता मात्रै १३ वटा मुद्दा दर्ता भइ सकेका छन्।
शनिबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित तुलसीपुर सिटी हस्पिटलमा चोरी भएको थियो। त्यहाँबाट एक लाख ७४ हजार चोरी भएको प्रहरीले जनाएको छ।
सिसिटिभी फुटेजमा देखिएका दुई जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरू तुलसीपुर–५ का १३ र १५ वर्षका छन्।
हस्पिटलका सुरक्षा गार्ड निदाएको मौका छोपी हस्पिटलमा प्रवेश गरेका उनीहरूले सुरुमा वाइरिङ तारले पैसा राखेको घर्रा खोल्न प्रयास गरेको सिसिटिभी फुटेजमा देखिएको छ।
त्यसपछि हस्पिटलको काउन्टरमा राखिएको चाबीको झुप्पा लगेर चोरी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
उनीहरूको घरबाट लुकाएर राखेको अवस्थामा ६१ हजार नगद मात्रै बरामद भएको र थप अनुसन्धान जारी रहेको डिएसपी मल्लले बताए।
अस्पताल प्रशासनले भने एक लाख ७४ हजार चोरी भएको भनेर प्रहरीमा जाहेरी दिएको छ।
शनिबार बिहान तुलसीपुर–९ बेलुवाकी शोभा बुढाथोकीको घाँटीमा लगाएको सुनको सिक्री एकजना बालकले थुत्न खोजे।
अरूले देखेपछि उनलाई लखेटेर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। १२ वर्षीय ती बालक वीरगंजका हुन्।
त्यस्तै शुक्रबार बेलुकी तुलसीपुर–९ दोघरेबाट सल्यानको दार्मा गाउँपालिका वडा नं. ३ का १९ वर्षीय शिव बिकले एक व्यक्तिको मोबाइल र २५ हजार नगद चोरी गरे। उनीपनि सिसिटिभीको फुटेजको आधारमा शनिबार पक्राउ परेका हुन्।
सोही दिन तुलसीपुर–७ राजापुरका १५ वर्षीय एक बालक पनि पक्राउ परे। मोबाइल र मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको तथ्य खुलेपछि उनी पक्राउ परेका हुन्।
यसअघि पनि उनी पटक-पटक चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
बाँकेको बैजनाथ गाउँपालिकाका २९ वर्षीय पूर्व प्रहरी सुदिप चन्द ल्यापटप चोरी अभियोगमा पक्राउ परेका छन्।
असोज १३ गते उनले एक जना कर्मचारीको ल्यापटप चोरी गरेको आरोप छ। चोरी पछि चन्दले उक्त ल्यापटप तुलसीपुरमा पसल गर्दै आएका ४० वर्षीय नन्दलाल भण्डारीलाई आठ हजारमा बिक्री गरेको तथ्य अनुसन्धानबाट प्रहरीले पत्ता लगायो।
प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर हाल अनुसन्धान गरिरहेको जानकारी दिएको छ। डिएसपी मल्लले चोरी कार्यमा अधिकांस बालबालिका संलग्न भएको पाइएको बताए। उनले आफू आएपछि एकै दिन १० देखि २० जनासम्म चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको दाबी गरे।