महोत्तरीमा एक जना महिलाको मृत्यु भएको छ।
मंगलबार मध्यराति १ बजे जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिनादेवी रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
थप दाइजो नदिँदा श्रीमान रोहनकुमार राउतसहित ससुरा पक्षले कुटपिट गरी उनको हत्या गरेको भन्दै माइतीपक्षले आरोप लगाएका छन्।
धनुषाको हंसपुर नगरपालिका-६ सोनिगामाकी रिनादेवीको गत वैशाख १९ गते रोहनकुमारसँग विवाह भएको थियो। विवाहमा लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए।
विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतीबाट ल्याउन भनी छोरी रिनादेवीलाई पतिसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ।
‘यसबीचमा विवाद हुँदा कैयन पटक सामाजिक अगुवा बसेर छलफल पनि भएको थियो,‘ उनले भने।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले भने शवको प्रकृति हेर्दा र परिवारका मान्छेहरूसँग बुझ्दा प्रारम्भीक रूपमा मृत्यु अस्वभाविक नदेखिएको बताए।
उनका अनुसार प्रहरी पुग्दा घरको बरण्डामा रिनादेवीको शव फेला परेको थियो।
‘खाना खाएर उनी श्रीमानसँगै सुतेकी थिइन्। अचानक शरीर चिसो भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको कुरा आएको छ,’ उनले भने, ‘कसरी मृत्यु भएको हो पोष्टमर्टम रिपोर्टबाट थाहा हुन्छ। हत्या भएको प्रमाण हामीले भेटेका छैनौं।‘
मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
छोरीको हत्या भएको दाबी गर्दै नवलले रिनाकी पति रोहनकुमारसहित परिवारका चार जनाविरूद्ध प्रहरीमा बुधबार कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्।
ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।