इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनको चुनावका लागि नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ।
अध्यक्षमा चितवनका सुवासचन्द्र बराल, उपाध्यक्षमा प्रकाश केसी र महासचिवमा विनोदप्रकाश पण्डित रहने गरी प्यानल घोषणा गरिएको हो।
अध्यक्षका उम्मेदवार बराल दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन्।
महासचिव पण्डित सिडेनका पूर्वमहासचिव पनि हुन्।
यही भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ।
लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको बताएको छ।
इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।
उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा, सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल र सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरूङ, अनिल पौडेल, सञ्जयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकसुन राय उम्मेदवार छन्।