पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा खसेको पहिरो आंशिक हटाइएको छ।
बुधबार दिउँसो ठूलो पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग पहिरो आंशिक हटाइएसँगै एकतर्फी सञ्चालनमा रहेको मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
सडक बिहीबार साँझ साढे ५ बजेदेखि नै एकतर्फी सञ्चालनमा रहेको उनले बताए।
बाँकी पहिरो ठेकेदारले नै आफ्नो तरिकाले पन्छाउने तर बाटो नै बन्द गरेर पहिरो पन्छाउने काम नहुने उनले बताए।
‘धेरै माटोहरू फाल्नुपर्ने हुन्छ, माटो फाल्ने ठाउँ खोजी भएपछि काम हुन्छ,’ उनले भने।
सडक एकतर्फी हुँदा पृथ्वी मुग्लिन-पोखरा खण्डमा सवारीको चाप बढेको छ।
साना तथा मझौला सवारी साधनलाई तालघरे-दरैपधेरा हुँदै घाँसीकुवा सडक पनि प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। त्यस्तै घाँसीकुवा-पोल्याण्ड, रानीगाउँ हुँदै तालघरे सडक प्रयोग गर्न पनि भनिएको छ।