तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ।
शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।
प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्छ।
जिल्लाका डिएसपी दीपककुमार रायका अनुसार भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ। बसमा अन्दाजी ४० जना रहेको उनले बताए।
सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नं. २३ मनकामना गण भानु तनहुँ बाट ३५ जनाको टोली उद्धारमा खटिएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार भिर भएकाले टुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर उद्धार गरी सडकसम्म ल्याउने प्रयास भइरहेको छ। दुर्घटनामा केहीको मृत्यु समेत भएको उनले बताए।