नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल बाँकेले खुकुरी प्रहारको घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन-पत्र बुझाएको छ।
गत शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा दुई जना पुरूषमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको थियो। हतियार प्रहारबाट राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल घाइते छन्। उनीहरूको भारतको लखनउमा उपचार जारी छ।
यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह नेतृत्वको समूहले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापन पत्र बुझाएका हुन्।
प्रदर्शनको क्रममा राप्ती सोनारी–२ का वडाध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीको तस्बिरको ब्यानर बोकेका थिए।
‘दोषीलाई कारबाही गर, पीडितलाई न्याय दे’ लेखेर तरुण दलका नेताहरू प्रशासनमा पुगेका थिए।
शनिबार घटना भएपछि वडाध्यक्ष ओलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। ओली नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र युवा संघ बाँकेका अध्यक्ष हुन्।
घाइते सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले ज्यान मार्ने उद्योग कसुरमा जिल्ला प्रहरी कार्यालय बाँकेमा नौ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।
अहिले वडाध्यक्ष ओली, ३२ वर्षीय सन्दीप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३१ वर्षीय बाला भनिने सन्तोष गुप्ता प्रहरीको हिरासतमा छन्। नारायण डाँगी, ऋषी देवकोटा, लोकेन्द्र डाँगी, नवीन भण्डारी र विशाल भण्डारी फरार छन्।
शनिबार फुटबल प्रतियोगिता हेरेर फर्किँदै गर्दा ढुकेर बसेको वडाध्यक्ष ओलीसहितको समूहले विष्ट र मल्लमाथि आक्रमण गरेको थियो। प्रहरीका अनुसार विष्ट बालुवा गिट्टी निकासी पैठारी लगायतका ठेक्कापट्टाको काम गर्थे। वडाध्यक्ष ओली पनि क्रसर उद्योग सञ्चालनदेखि बालुवा गिट्टीको ठेक्कापट्टाको काम गर्दै आएका व्यक्ति हुन्।
एकै समूहमा रहेर काम गरिरहेका विष्ट र मल्ल पछि तरूण दलमा प्रवेश गरेका थिए। राजनीतिक प्रतिशोध र ठेक्कापट्टामा अवरोध पुर्याउन सक्ने आशंकामा उनीहरूमाथि आक्रमण गरेको घाइते परिवारको आरोप छ।
एसपी तुलबहादुर कार्कीले पनि विगतमा आक्रमणमा संलग्न व्यक्तिहरू र घाइतेहरू एकै समूहमा रहेर ठेक्कापट्टाको काम गरेको बताए। यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको हुँदा खुकुरी प्रहारको यकिन कारण भने खुलिसकेको छैन।