हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले शनिबार बुलेटिन जारी गरी जानकारी दिएको छ।
शनिबार र आइतबार कतैपनि भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै शनिबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबारदेखि भने पुनः भारी वर्षा हुने महाशाखाको प्रक्षेपण छ।