भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्था बुझ्न उनी शनिबार काठमाडौं आइपुगेकी हुन्।
राज्यमन्त्री खड्सेले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
उनीसँगै गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका छन्।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रा गरिरहेका थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ।
शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
तस्बिरहरूः
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।