कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ।
शनिबार बिहान १ बजे गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्ती मगरका छोरीहरू ७ वर्षीया काजल र ४ वर्षीया नीताको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डिएसपी कविन्द्र बोहराका अनुसार घरको भुइँतलाको खाटमा सुतेका उनीहरूलाई सर्पले टोकेको हो।
उनीहरूलाई बिहानै साढे तीन बजे सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचार क्रममा दुवैको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए।
बालिकाहरूसँगै सुतेकी उनीहरूकी हजुरआमा ५५ वर्षीया रिजु घर्ती मगरको भने उपचार भइरहेको छ।
यस्तै शनिबार सर्पको टोकाइबाट धनगढीमा थप दुई जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका -१२ डी गाउँ बस्ने १३ वर्षीय सुवास बोहरा र धनगढी-८ बस्ने ३२ वर्षीय गोपाला रानाको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।