दाङको खोलामा शनिबार एक महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार रोल्पाको रून्टीगढी गाउँपालिका– ६ बेतनी गाउँ घर भई दाङको तुलसीपुर–१९ बस्दै आएकी ४३ वर्षीया वसन्ती सार्कीको शव फेला परेको हो।
शव सोही वडामा पर्ने दुम्रीचौरस्थित ग्वारखोलाको सहायक भँगालोमा फेला परेको हो।
वसन्ती भदौ ५ गते आफू बस्ने घरदेखि झन्डै ३०० मिटर टाढाको, तुलसीपुर–१९ मै पर्ने सुन्दर खोलामा पानी लिन भनेर बेलुकीपख निस्केकी थिइन्।
बेलुकी सात बजेसम्म पनि उनी घर नफर्किएपछि खोजी सुरू भएको थियो।
भदौ ७ गते उनका छोरा कमलले सुन्दर खोलाको किनारमा वसन्तीको कुर्ता, रूमाल र चप्पल फेला पारेका थिए।
कमलले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आमाका सरसामान फेला परेको सूचना दिएका थिए। यसपछि खोजीमा गएको प्रहरी टोलीले शनिबार वसन्तीको शव उनको घरदेखि झन्डै ४ किलोमिटर टाढा खोलामा फेला पारेको हो।
शवको सनाखत वसन्तीका भाइ उत्तम सार्कीले गरेको इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।