रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात छ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीनवटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिए।
‘वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन्। केही घरहरूमा क्षति पुगेको छ। अहिलेसम्म दुईवटा शव निकालिएको छ। त्यसमा १ जना बालक रहेका छन्। ८ जनाको अवस्था अज्ञात छ। १ जना बालकले भागेर ज्यान जोगाएका रहेछन्, उनी पनि घाइते अवस्थामा छन्,’ महतोले सेतपाटीसँग भने।
उनका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको स्थानीयले बताएका छन्।