घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सिद्धरत्ननाथ माध्यामिक विद्यालयले चालु शैक्षिक वर्षमा कक्षा ११ मा कोरियन भाषाको पढाइ सुरु गरेको छ।
विद्यालयले ऐक्षिक तेस्रो समूह अन्तर्गत कक्षा ११ कोरियन भाषाको पढाइ सुरु गरेको हो। अहिले यो विषय रोजेका विद्यार्थीले अर्को शैक्षिक वर्षमा १२ मा पनि पढ्नेछन्।
विद्यालयका प्रधानाध्यापक उत्तम खनालका अनुसार हाल ६२ जना विद्यार्थीले कोरियन भाषा रोजेर पढाइ सुरु गरेका छन्।
दाङमा अंग्रेजीबाहेक अर्को विदेशी भाषा पढाउनेमा सिद्धरत्ननाथ माध्यमिक विद्यालय पहिलो हो।
शिक्षक व्यवस्थापन सहजताका लागि उक्त विषय बिहान पढाइ हुने गरेको छ। गत साउन दोस्रो साता कक्षा सुरु भएको हो। विद्यालयले कोरियन भाषा शिक्षणका लागि स्थानीयवासी कविराम चौधरीलाई ‘आंशिक समय करार’ मा शिक्षक नियुक्त गरेको छ।
प्रधानाध्यापक खनालका अनुसार चौधरीले दक्षिण कोरियामा उच्च शिक्षा हासिल गरेका हुन्। उनले कोरियाबाटै विद्यावारिधि गरेका छन्। उनी सिद्धरत्ननाथ विद्यालयकै पूर्व विद्यार्थी हुन्।
उनी घोराहीमा कोरियन भाषा शिक्षण इन्स्टिच्युट चलाउँछन्। उनी दिउँसो आफ्नो इन्स्टिच्युटमा व्यस्त रहने भएकाले विद्यालयले बिहान कक्षा चलाउनु परेको हो।
प्रयोगात्मक कक्षा विद्यालयमै कार्यरत एक जना शिक्षक चलाउँछन्।
विद्यालयले कोरियन भाषा विषय पढाउन थालेपछि विद्यार्थीहरू खुसी देखिएका छन्। यस्तै मध्ये एक हुन् घोराहीकै बासिन्दा आशा केसी। उनले ऐक्षिक तेस्रोमा कोरियन भाषा रोजेकी छन्।
‘अंग्रेजी बाहेक कम्तीमा एउटा विदेशी भाषा पढ्ने रहरले कोरियन भाषा लिएकी हुँ,’ उनी भन्छिन् ‘यो भाषा इन्स्टिच्युटमा गएर पढ्नु पर्दा अलग्गै समय र पैसा खर्च हुन्छ। अहिले स्कुलमै पढ्न पाउँदा खुसी लागेको छ।’
अर्का विद्यार्थी दिवस केसीले पनि कोरियन भाषा रोजेका छन्। भन्छन्, ‘पछि कोरिया जाने विचार भयो भने सजिलो हुन्छ। भाषा सिक्न छुट्टै समय दिनु पर्दैन।’
विद्यालयले भाषा कक्षाका लागि मासिक ६ सय रुपैयाँ शुल्क तोकेको छ। भाषा शिक्षकलाई निजी स्रोतबाट तलब दिनुपर्ने भएकाले अतिरिक्त शुल्न लिनुपरेको प्रधानाध्यापक खनालको भनाइ छ।
शिक्षक चौधरीका अनुसार एक ऐक्षिक विषयका रूपमा दुई शैक्षिक वर्ष कोरियन भाषा पढेको विदेशी विद्यार्थी आधारभूत सिपमा दक्ष हुन्छ। त्यस्तो विद्यार्थीले कोरियामा उच्च शिक्षा पढ्न कोरियन भाषा अलग्गै पढ्नु पर्दैछन्।
उनी भन्छन्, ‘विद्यालयमै कुनै देशको मुख्य भाषा पढाउने हो भने भविष्यमा त्यो देशमा पढ्न वा रोजगारीका लागि जान सजिलो हुन्छ।’
उनले सिद्धरत्ननाथ विद्यालयले कोरियन भाषा पढाउन सुरु गरेपछि विद्यार्थीहरू उत्साहित भएको बताए। उनले भने, ‘म शिक्षक नियुक्तपछि मलाई फोन गरेर धेरैले जानकारी लिएका छन्। अर्को वर्ष विद्यार्थी संख्या बढ्न सक्छ।’
प्रधानाध्यापक खनालका अनुसार विद्यार्थीहरूबाट कोरियन र जापानी भाषाको माग हुने गरेको छ। हाल कोरियन भाषा धेरैको रोजाइमा छ।
‘विद्यार्थीहरूले माग गरेपछि एउटा भाषा किन नपढाउने भनेर हामीले कोरियन भाषा रोजेका हौं,’ उनी भन्छन्, ‘इन्स्टिच्युटमा पढ्नुपर्यो भने ५० हजारदेखि ६० हजार रुपैयाँसम्म खर्च लाग्छ। विद्यालयले पढाउँदा विद्यार्थीको पैसा र समय दुबै बचत हुन्छ।’
अर्को वर्ष जापानी भाषाको पनि पढाइ सुरु गर्ने उनले बताए।
कोरियन भाषा पढाउन सुरु गरेपछि विद्यार्थीहरू खुसी भए पनि विद्यालय आलोचनामुक्त छैन। केही व्यक्तिले कुनै एउटा देशको भाषा पढाएर विद्यालयले विद्यार्थीहरूलाई विदेश पलायन हुन प्रेरित गरेको आरोप लगाएको प्रधानाध्यापक खनालले बताए।
नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रममा सूचीकृत विषय विद्यार्थीको मागअनुसार पढाउँदा विदेश पलायन हुन प्रेरित गरेको भन्नु गलत रहेको उनको भनाइ छ।
‘पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डबाट स्वीकृत पाठ्यक्रमका आधारमा हामीले कोरियन भाषा पढाउन थालेका हौं,’ उनले भने, ‘रुचिको विषय पढाएर विद्यार्थी आकर्षित गर्नु पनि हाम्रो उद्देश्य थियो। कोरियन भाषा पढाउन थालेपछि विद्यार्थी संख्या बढेको छ।’
उनले सबै प्रक्रिया पूरा गरेर एक ऐक्षिक विषयका रूपमा कोरियन भाषा पढाउन सुरु गरेको उनले बताए।
उनका अनुसार विद्यालयको निर्णय घोराही उपमहानगरपालिका कार्यालयमा जानकारी गराउँदा शिक्षा महाशाखाले स्वीकृति लिनुपर्ने शर्त राखेको थियो। राष्ट्रिय पाठ्यक्रममा सूचीकृत विषय पढाउन स्थानीय तहको स्वीकृति लिनुपर्ने प्रावधान छैन।
छलफलबाट समझदारी कायम भएको प्रधानाध्यापक खनालले बताए।
घोराही उपमहानगरपालिका, शिक्षा महाशाखाका प्रमुख विनोद गौतमका अनुसार उपमहानगरभित्र २६ वटा माध्यमिक विद्यालय छन्। तीमध्ये १६ वटामा १२ कक्षासम्म पढाइ हुन्छ।