सप्तरीमा बँदेल मारेको आशंकामा प्रहरीले पूर्वडिआइजीसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो।
बुधबार राति पूर्वडिआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो।
उनीहरूलाई प्रहरीले स्कार्पियो गाडीमा फेला पारेको थियो। गाडीबाट 'पोइन्ट टुटु' क्यालिबर राइफल फेला पारेको हो।
उक्त राइफल लाइसेन्स प्राप्त हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
गएराति नै प्रहरीले उनीहरू फेला परेको एक किलोमिटर टाढा बँदेल राखिएको एउटा बेवारिसे ट्याक्टर पनि फेला पारेको थियो।
बँदेल मारेर ट्याक्टरमा राखिएको अवस्थामा फेला पारेपछि प्रहरीले पूर्वडिआइजी सहितलाई नियन्त्रणमा लिइएको हो।
उक्त ट्याक्टर कसको हो भन्नेबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।