बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ।
घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए।
बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो।
अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ। घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन्।
दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएको थियो।
कोहलपुर–नेपालगन्ज सडक खण्डमा तीव्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भई खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले बताए।
बस चालक प्रहरी नियन्त्रणमा छन्।