बैंकिङ कसुरको जाहेरी दरखास्त पनि नजिकको प्रहरी कार्यालयमा नै दर्ता गर्न माग राख्दै युवाहरूको एक समूहले बिहीबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
काठमाडौं जिल्लाको हकमा जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेको छ। सेवाग्राही वा पीडित अन्य नजिकैको प्रहरी कार्यालयमा जाँदा सो कसुरको जाहेरी दर्ता हुँदैन।
‘हरेक दिन पीडितले झन् पिडा महसुस गरिरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि सजिलै जाहेरी दर्ता हुँदैन दस लाखभन्दा माथिको बिगो रकम छ भने अनिवार्य आय स्रोत देखाउनु पर्छ। जबकि, बैंक स्टेट्मेन्ट र पैसा पठाएको भौचर नै आय स्रोतको प्रमाण मान्न सकिन्छ। सामान्य मानिसले सजिलै उजुरी दर्ता गर्न सक्दैनन्’, ध्यानाकर्षण पत्रमा भनिएको छ।
उनीहरूले काठमाडौं जिल्ला मात्र नभई अन्य जिल्लामा पनि चेक सम्बन्धी अपराधका घटनाका उजुरी दर्ता हुनुपर्ने माग राखेका छन्।
कानुनका विद्यार्थी चेतन जेठारा, सुविना खनाल, हरी पौडेल, अभिषेक बोहरा र सुशान्त शुक्लाले गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।