पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङस्थित एउटा घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा २ जना बालबालिकाको मृत्यु भएको छ।
ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा बिहीबार अपराह्न साढे ३ बजे विस्फोट हुँदा २ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले जानकारी दिए।
मृत्यु हुनेमा ज्ञानबहादुरका छिमेकी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवा रहेकी छन्।
दुवैको उपचारका क्रममा मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए।
विस्फोटमा ज्ञानबहादुरका दुई छोरा घाइते भएकामा एक जना बिहीबार नै डिस्चार्ज भएको र एक जनाको उपचार भइरहेको छ।
बालबालिका खेलिरहेका बेला ठूलो आवाजसहित विस्फोट भएको थियो। डिएसपी भण्डारीले विस्फोटक पदार्थ केहो भन्ने खुलिनसकेको र सेनाको टोली घटनास्थल पुगेकाले डिस्पोज गरेपछि थाहा हुने जानकारी दिए।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले उक्त वस्तु ह्यान्डमेड ग्रिनेड हुनसक्ने आकलन गरिएको बताए।
'ठूलो आवाजसहित गाउँ नै थर्किने गरी विस्फोट भएको भनिएको छ। ह्यान्डमेड ग्रिनेड जस्तो देखिएको छ,' उनले भने।
विस्फोट भएपछि उक्त घर बिहीबारदेखि नै प्रहरीले घेरेर राखेको छ।
अर्को शंकास्पद वस्तु समेत देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दै गरेको प्रजिअ कोइरालाले जानकारी दिए।
विस्फोटक पदार्थ पुरानै हुनसक्ने आकलन गरिएको पनि प्रजिअ कोइरालाले बताए। यद्यपि सेनाले डिस्पोज गरेपछि बाँकी कुरा खुल्ने उनले बताए।
विस्फोटक पदार्थ कहाँबाट आयो भन्नेमा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।