पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ प्राङबुङस्थित ज्ञानबहादुर राईको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
बिहीबार सोही घरको आँगनमा विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको थियो। त्यहाँ अर्को शंकास्पद वस्तु पनि देखिएपछि प्रहरीले सेनालाई खबर गरेको थियो।
प्रहरीले शंकास्पद वस्तु भेटिएको घर रातभरी घेरेर राखेको थियो। शुक्रबार बिहानै सदरमुकाम फिदिमबाट हिँडेको नेपाली सेनाको बम डिस्पोजल युनिट १० बजेपछि घटनास्थल पुगेको थियो।
'अहिले शंकास्पद वस्तु डिस्पोज भइसकेको छ,’ घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रूपेश तामाङले सेतोपाटीसँग भने। शंकास्पद वस्तु हातले बनाइएको सकेट बम रहेको उनले बताए।
घटनास्थल सुरक्षित भएपछि सेनाको टोली त्यहाँबाट फर्किएको छ। प्रहरीले घटनास्थलको मुचुल्का गरिरहेको छ। बिहीबार विस्फोट भएको पदार्थ पनि सोही प्रकृतिको सकेट बम रहेको इन्स्पेक्टर तामाङले जानकारी दिए।
विहीबार अपराह्न साढे ३ बजे आगनमा ४ बालबालिका खेलिरहेको समयमा विस्फोट भएको थियो। विस्फोटमा ज्ञानबहादुरका दुई छोरा र छिमेकी दिलीप साँवाका दुई छोराछोरी घाइते भएका थिए।
दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवाको उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको थियो। ज्ञानबहादुरका एउटा छोरा बिहीबार नै डिस्चार्ज भएका छन् भने अर्का छोरा पवन राईको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थल सुरक्षित गराइएलगत्तै बम कहाँबाट आयो भन्ने विषयबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए।
बम भेटिएको घर आइतराज केरूङको हो। यसबारे उनीसँग पनि सोधपुछ गरिने पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए।