बाजुरा र हुम्ला भएर बग्ने एउटा नदी साढे २ घण्टा थुनिएको छ।
मुहान नजिक पहिरो जाँदा हुम्लामा पर्ने कुवाडी नदी साढे २ घण्टासम्म थुनिएको थियो।
शुक्रबार बिहान साढे १० बजेबाट थुनिएको नदी दिउँसो सवा एक बजेतिर खुलेको हो।
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिका भएर बग्ने नदीको बाजुरामा पर्ने मुहान नजिक पहिरो खसेपछि नदी थुनिएको अनुमान गरिएको थियो।
हुम्लाको ताजाकोटमा एक्कासि नदी सुकेको देखिएपछि बाजुराको हिमाली गाउँपालिकाले उक्त नदी र कर्णाली नदी आसपासमा रहेका मानिसलाई सतर्क रहन भनेको थियो।
नदी अहिले खुलेर सामान्य अवस्थामा पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए।
‘नदी खुलेको छ, सुरूमा पहिलाको सतहभन्दा दुई गुणा पानी बगेर अहिले उही स्थितिमा फर्किएको छ,’ प्रजिअ पोखरेलले भने, ‘यसबाट कुनै पनि क्षति भएको छैन, अवस्था पनि सामान्य छ।’