गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।
उनका अनुसार कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, झापाको बाह्रदशी गाउँपालिका ५ का ३१ वर्षीय सुवास बस्नेत, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर पक्राउ परेका हुन्।
मंगलबार उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। शुक्रबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद थप गरिएको उनले बताए।
साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।