सडकमा सवारी साधन चलाउँदा ट्राफिक नियम र संकेतबारे जानकार हुनुपर्छ।
यस्ता संकेत चिह्नहरूले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोकेका हुन्छन्।
पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू—टर्न निषेध, दायाँ बोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाइ, उकालो बाटो चिह्न, ओरालो बाटो चिन्ह, पहिरो खस्न सक्ने जोखिमको चिह्न, दोहोरो मोडको चिह्न, सहायक बाटोको चिह्न, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका संकेतहरू लेखेर टाँसिएका हुन्छन्।
काठमाडौंमा त्यस्ता ट्राफिक चिह्नहरू राखिएका स्थानको व्यवस्थापन फितलो देखिन्छ।
कतिपय स्थानमा सवारी साधन चलाउँदा आफ्नो अगाडि पछाडि गुडेका सवारी साधनबारे ख्याल गर्नुभन्दा ट्राफिक संकेतहरू कता केही छन् कि भनेर हिँड्नुपर्ने अवस्था छ। राखिएका संकेतहरू केही ठाउँमा जीर्ण बनेका छन् भने केही स्थानहरूमा अन्य सामग्रीले छोपिएको देखिन्छ।
कतै सबै मानिसहरूले देखिने ठाउँमा संकेतहरू राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरूवाको हाँगाहरूले छेकिएका छन्।
कहीँ राखिएका ट्राफिक चिह्नहरू खुइलिएर नबुझ्ने भएका छन्, कतै च्यातिएका छन्।
ट्राफिक संकेतहरू स्पष्ट देखिने ठाउँमा नराख्दा दुर्घटना बढ्ने सम्भावना रहन्छ।
सवारी चालकले संकेत नदेख्दा कारबाही भोग्नुपर्ने हुन्छ।
त्यसकारण राखिएका ट्राफिक चिह्नहरू प्रष्ट देखिनुपर्छ। यसमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।
तस्बिरहरूः
सबै तस्बिरः न्युज एजेन्सी नेपाल।