रूपन्देहीमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
कोटहीमाई गाउँपालिकाका दुई जना कर्मचारीसहित तीन जनालाई बलात्कार आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
पीडित परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दिएपछि कोटहीमाई गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ बस्ने बंटी भनिने शैलेश पाण्डे पक्राउ परेका हुन्। मनोहर गाउँपालिकाका स्थायी कर्मचारी हुन् भने मुकेश करार कर्मचारी हुन्। त्यस्तै, शैलेश वडा नं. ३ का वडाअध्यक्षका छोरा हुन्।
एसपी राठौरका अनुसार घटना भदौ ५ गते भएको थियो। कामको शिलशिलामा लुम्बिनी जाँदा १८ वर्षीया किशोरीमाथि बलात्कार भएको भन्दै पीडित परिवारले जाहेरी दिएका छन्।
‘शनिबार उजुरी आउने बित्तिकै पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने र घटनामा संलग्न भनिएकाहरूलाई पक्राउ गरी ल्याइएको छ,’ राठौरले भने।
आफूलाई रोजगारी दिने भन्दै होटल जस्तो ठाउँमा लगेर जबरजस्ती करणी गरेको भन्दै किशोरीले प्रहरीसमक्ष बताएकी छन्।
अहिले उनीहरू तीनै जनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत भैरहवामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको एसपी राठौरले बताए।