सोमबार (आज) भाद्र कुशे औंसी पर्व मनाइँदैछ। आजको दिन पितालाई श्रद्धा र भक्तिभाव प्रकट गर्दै मनाउने गरिन्छ।
बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्।
छोराछोरीले आफ्ना पितालाई मीठा—मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुख—शान्ति मिल्ने जनविश्वास छ।
पिता नहुनेहरूले विभिन्न देवस्थल गइ तीर्थ श्राद्ध गर्ने गर्छन्। श्राद्ध नगर्नेहरूले पनि पितृतर्पण र सिदादान गर्छन्। श्रद्धापूर्वक ब्राह्मण भोजन गराउने गर्छन्।
आजकै दिन उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेहरूको ठूलो मेला लाग्छ। गोकर्ण उत्तरगया धामसमेत हुनाले त्यहाँ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्ने विश्वास पनि छ।
गोकर्ण—उत्तरगया क्षेत्रमा आज दिनैभर श्राद्ध, सिदा—पिण्डदान गर्नेहरूको मेला लाग्ने गर्छ। काठमाडौंकै पाशुपत क्षेत्र, मुस्ताङको कागबेनी, चितवन र तनहुँको सिमानामा रहेको देवघाट लगायतका ठाउँमा पनि तीर्थ श्राद्ध गर्नेहरू पुग्छन्।
आजकै दिन घरघरमा कुश भित्र्याउने प्रचलन पनि छ। वर्षभरि देवकार्य र पितृकार्यका लागि नभई नहुने कुश आजै भित्र्याउने गरिन्छ।
पुरोहितहरूले आफ्ना यजमानकहाँ कुश पुर्याउने गर्छन् भने कतिपयले बजारबाट किनेर पनि घरमा लगेर राख्ने प्रचलन छ।