पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार बिहान ८:५५ बजे बर्देलाबाट रामटार जाँदै गरेको प २४३१ नम्बरको स्कुटर पाल्पाको रामपुर नगरपालिका-१० स्थित कालीगण्डकी करिडोर सडकमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटना हुँदा स्कुटर चालक रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरू मगरको मृत्यु भएको छ।
स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रामपुर अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले भने।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।