याक्थुङ लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) को ३६ औं स्थापना दिवस मनाइएको छ।
यसपालि विभिन्न कार्यक्रम गरी ५ दिनसम्म चुम्लुङको स्थापना दिवस मनाइएको हो।
चुम्लुङको केन्द्रीय कार्यालय, चुम्लुङहिम ललितपुरमा भदौ १३ गतेदेखि ५ दिनसम्म विभिन्न कार्यक्रमहरू गरी सोमबार स्थापना दिवस सम्पन्न गरिएको हो।
कार्यक्रमको पहिलो दिन गत (भाद्र १३ गते) साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिएको थियो।
पहिलो दिन नै चुम्लुङ संगीत पुरस्कार लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याएका तीन जनालाई साक्केला केवाफुङ्वा पुरस्कार प्रदान गरिएको थियो।
उक्त पुरस्कार यसपालिदेखि नै वितरण गर्न सुरू गरिएको र पहिलो पटक भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकले प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी गरिएको थियो।
तेस्रो दिन (भदौ १५ गते) मुन्धुमीस्थल मुक्कुम्लुङमा ‘नो केवलकार’ शीर्षकको कला प्रर्दशनीसंगै ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा अन्तरक्रिया आयोजना गरिएको थियो।
कार्यक्रमको चौथो दिन भाद्र १६ गते विश्वभरि संगठित चुम्लुङका पदाधिकारीहरूसँग भर्चुअल शुभकामना आदनप्रदान गरिएको आयोजकले बताएका छन्।
कार्यक्रमको अन्तिम दिन विभिन्न व्यक्तिलाई पुरस्कारसमेत प्रदान गरिएको छ।
यस वर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार ‘तङसिङ मुन्धुम’का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो।
चुम्लुङका पूर्वअध्यक्ष स्वर्गीय मन्जुलकुमार सिंह याक्थुङवाद्धारा स्थापित सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ।
अन्तिम दिनको मूल समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ(बैरागी काइला)को प्रमुख आतिथ्यता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृतिले मानिसहरूलाई एकआपसमा जोड्ने बताए। उनले पछिल्लो साढे तीन दशकमा मुन्धुमलाई दस्तावेजीकरण गर्ने सवालमा निकै उपलब्धिमूलक काम भएको समेत बताए।
कार्यक्रमका सभापति किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले पवित्र मुन्धुमी स्थल मुक्कुमलुङ (पाथीभरा क्षेत्र) मा जर्वजस्ती केबलकार निर्माण गर्न खोजिएको बताए। त्यस्तै प्रदेश १ को नामाकरण पनि ऐतिहासिक भूगोल, सभ्यता र पहिचानको आधारमा नगरिएकाले आन्दोलन गरिएको र त्यो नभएसम्म आन्दोलन जारी रहने बताए।