अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी ढाबा स्थित छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ राजपुरका २३ वर्षीय उमेश पौडेल र वडा नं. ८ बोडगाउँका २२ वर्षीय किशोर रास्कोटी छन्।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरू मंगलबार दिउँसो नुहाउन छहरे खोलाको झरनामा पुगेका थिए। दिउँसो साढे २ बजेतिर खोलामा एक्कासि आएको बाढीले उनीहरुलाई बगाएको थियो।
खोलाले बगाएर वेपत्ता भएका उनीहरुको खोजी गर्ने क्रममा उमेशको शव ढाव कुलाको बाँधमा र किशोरको शव हडाह कुलोको बाँधमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरुसँगै गएका दुईजनाले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।
झरना निकै ठाडो भएको र एक्कासि आएको बाढीको तिव्र बेगका कारण युवाहरुले पौडिएर ज्यान जोगाउन नसकेको हुनसक्ने प्रहरीले जनाएको छ।