मोरङमा मृत फेला परेका दुई जना बालिकाका आमा बिर्तामोडबाट पक्राउ परेका छन्।
धनकुटा घर भई सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ मा बस्दै आएकी २९ वर्षीया अस्मिता पौडेल कार्कीलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
गत भदौ १५ गते वडा ७ स्थित केरघारीमा अर्जुन कार्की र अस्मिताका दुई छोरी मृत फेला परेका थिए। एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिका मृत फेला परेका थिए।
अस्मिताले शुक्रबार आफ्ना श्रीमान् अर्जुनसँग झगडा भएपछि दुवै छोरीलाई लिएर हिँडेकी थिइन्।
बालिकाहरू मृत फेला परेको घटनास्थलमा विषका बट्टाहरू फेला परेका थिए। अस्मिताको मोबाइलसमेत त्यही फेला परेको थियो।
उक्त घटनापछि प्रहरीले अस्मितालाई झापाबाट पक्राउ गरेको हो। अहिले उनलाई मोरङ ल्याउँदै गरेको एसपी कार्कीले बताए।
प्रहरीको प्रारम्भिक बयानमा अस्मिताले पनि विष खाएको बताएकी छिन्। आफूले खाएपछि दुई छोरीलाई पनि खुवाएको उनको भनाइ छ।
‘आफूले पनि खाएको भनेर भनेकी छन्। बच्चाहरूलाई खुवाएपछि मृत्यु भयो तर आफू नमरेपछि मोबाइल त्यहीँ छाडेर भागेको भनेकी छन्,’ उनले भने।
अस्मिता र अर्जुनबीचको सम्बन्ध राम्रो नभएको उनले बताए। अर्जुन गाडी चालक हुन्। गाली गलौज, मार्ने धम्की लगायत दिने गरेपछि आफूले छाडेर हिँडेको प्रारम्भिक बयानमा बताएको एसपी कार्कीले बताए।
पक्राउ परेकी अस्मितामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने एसपी कार्कीले जानकारी दिए।