दाङमा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्।
बबई गाउँपालिका वडा नम्बर ७ मलइका ३५ वर्षीय रेशम बाठा मगर जंगली बँदेलको आक्रमणबाट घाइते भएका हुन्।
बुधबार बिहान करिब ३ बजेतिर मकै बारीमा आएका बँदेलका बथान धपाउन गएका उनलाई बँदेलले आक्रमण गरेको थियो।
बँदेलको आक्रमणबाट मगरको ओठ, मुखका साथै हात, खुट्टामा चोट लागेको स्थानीयबासिन्दा प्रेम पुनले बताए।
बारीको मकै खान आएका बँदेलका बथान धपाउन मगरका साथै अन्य स्थानीय पनि बारीमा पुगेका थिए।
बाँके राष्ट्रिय निकुञ्जका बँदेलले मकै खाएर दु:ख दिएको पुनको भनाइ छ।
बँदेलको आक्रमणबाट घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
प्रहरीले यस घटनाबारे जानकारी प्राप्त नभएको जनाएको छ।