चितवन र गोरखा जोड्न त्रिशूली नदीमाथि बनाइएको पुल उद्घाटन गरिएको छ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर १ बुटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुमखोलालाई जोड्ने पुल बुधबार उद्घाटन गरिएको हो।
ब्लु इनर्जी प्रालिले बनाएको पुल गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। बुटारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण भइरहेको छ।
आयोजनाका सामग्री ढुवानीका लागि पुल बनाइएको हो।
कम्पनीका अनुसार १६ करोड १४ लाख रुपैयाँमा एक सय १६ मिटर लम्बाई र ४.२ मिटर चौडाइको पुल बनाइएको हो। बेलिब्रिज २० टन भारवहन क्षमताको हो भने एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्छ।