काठमाडौंको कुलेश्वरबाट नाबालिकालाई घरेलु कामदार राखेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बिहीबार काठमाडौं महानगर-१४ कुलेश्वरबाट ५४ वर्षीय पुरूषको घरबाट १७ वर्षीया बालिकाको उद्धार गरिएको काठमाडौं मेयरको सचिवालय स्रोतले जानकारी दियो।
स्रोतका अनुसार ती बालिकालाई उक्त घरमा ६ वर्षदेखि घरेलु कामदारको रूपमा राखिएको थियो। विगत तीन वर्षदेखि भने उनीमाथि बलात्कार भएको आरोपमा प्रहरीले ती पुरूषलाई पक्राउ गरेको हो।
महानगरले बालश्रमविरूद्ध अभियान सञ्चालन गरेको छ।
त्यसअनुसार महानगरको बाल हेल्पलाइन, बालबालिका खोजतलास केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त अनुगमन र जाहेरीपछि ती पुरूषलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो।