सामाजिक सद्भाव भड्किने खालको स्टाटस लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौंको न्यूरोडबाट एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।
सामाजिक सञ्जाल फेसबुकमा सद्भाव भड्किने खालका विभिन्न स्टाटस लेखेको आरोपमा बिहीबार मानबहादुर कार्कीलाई पक्राउ गरिएको उनको भनाइ छ।
उनले फेसबुकमा समाजमा गलत प्रवृत्ति आउन सक्ने खालका र गलत बाटोमा प्रेरित गर्ने खालका कुराहरू लेखेको एसपी अवस्थीले बताए।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी अवस्थीले बताए।
‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्लाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।
व्युरो स्रोतका अनुसार भने प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई लक्षित गरी र बंगलादेशको जस्तो स्थिति हुने भन्दै विभिन्न स्टाटस लेखेको भन्दै उजुरी आएपछि प्रहरीले पक्राउ गरेको हो।
व्युरोले बिहीबार पनि सामाजिक सञ्जालको दुरूपयोग भएको भन्दै सार्वजनिक सूचनासमेत जारी गरेको थियो।
‘आम नागरिकले जानीनजानी यसको दुरूपयोग गरी समाजमा भ्रामक तथा गलत सूचना सम्प्रेषण गरी उदण्डताको स्थिति सृजना भएको र सामाजिक सद्भावमासमेत असर पर्ने देखिएकोले यस प्रकारका गतिविधिमा व्युरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको अज्ञानता क्षम्य नहुने भएकाले यस्ता गतिविधिमा संल्न नहुन अनुरोध गर्दै मर्यादित तवरबाट सामाजिक सञ्जाल लगायत डिजिटल प्लेटफर्मको सदुपयोग गर्नुभई सही सूचना आदानप्रदान गर्नुहुन सबैमा अनुरोध गर्दछौं।’