एउटै नम्बर प्लेट भएको पाँच वटा मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच वटा मोटरसाइकलमा एउटै नम्बर रहेको फेला पारेको हो।
ट्राफिक प्रहरीको अनुसन्धान टोलीले काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वरबाट चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको एसपी विश्वराज खड्काले जानकारी दिए।
सुरूमा बिहीबार प्रहरीले से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका २८ वर्षीय हिमाल खत्रीलाई पक्राउ गरेको थियो। उक्त नम्बर प्लेट दर्ता भए/नभएकोबारे बुझ्दा यही नम्बरको अर्को मोटरसाइकल रहेको खुलेको हो।
अनुसन्धानकै क्रममा खोजी गर्दै जाँदा मध्यबानेश्वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका-२ का २५ वर्षीय प्रमोद कुँवर पक्राउ परे। उनीसँग पनि सोही नम्बर प्लेटको ३५० सिसीको खैरो रंगको बुलेट फेला परेको हो। उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट प्रदेश ०२-०४७ प १९७५ हो। काठमाडौंको रानीबारीबाट गत साउन २८ गते हराएको थियो। रानीबारी बस्ने अनुज पाण्डेले आफ्नो बाइक हराएको भन्दै ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
कुँवरमाथि प्रहरीले सोधपुछ गर्दा त्यही नम्बरको प्लेट अर्को मोटरसाइकलमा समेत रहेको बताए।
त्यसपछि प्रहरीले छाउनीबाट १५० सिसीको एफजेडएस मोटरसाइकल बरामद गर्यो। यस मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-३८ प ९२५३ रहेको काँडाघारी बस्ने उत्तमकुमार पराजुलीको खुलेको हो। उक्त मोटरसाइकल पनि ललितपुरको बालकुमारी क्षेत्रबाट गत असोजमा हराएको थियो।
त्यसैबीच अनुसन्धानकै क्रममा सोही नम्बर प्लेटको अर्को कालो रंगको यामाहाको १५५ सिसीको एमटी १५ बेवारिसे अवस्थामा फेला पारी प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो। उक्त मोटरसाइकलको पनि वास्तविक नम्बर बा.प्र ०२-०२२ प ५०७८ रहेको खुलेको हो। यस मोटरसाइकल भने बागबजार बस्ने हितेश तण्कुकारको रहेको र सिफलबाट हराएको थियो।
थप सूचनाको आधारमा नियन्त्रणमा लिएको वास्तविक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. भने भन्सार कार्यालय पठाइएको छ। उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो। उक्त मोटरसाइकलको वास्तविक ब्लुबुकलाई प्रयोग गरी अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त मोटरसाइकललाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।