राप्ती नदीको किनारमा एक व्यक्तिको शव भेटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीमा माछा मार्ने क्रममा शुक्रबार अपराह्न तीन जनालाई बगाएको थियो।
भरतपुर–२७ का २८ वर्षीय रोहितकुमार चौधरी बगेको केहीबेरमा नदीबाट उत्रिएका थिए। भरतपुर–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ ४५ वर्षीय सुकबहादुर परियार हराइरहेका थिए।
माछा मार्ने क्रममा हराएको स्थान जमुनाघाटदेखि करिब ४ किलोमिटर तल टाइगर टप्स घाट नजिक शव भेटिएको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ। नदीको किनारमा भेटिएको शवको सनाखत भइसकेको छैन।
माछा मार्ने क्रममा दुई जनालाई नदीले बगाएको सूचना पाएपछि शुक्रबार रातिबाटै खोजी सुरु गरिएको थियो। शनिबार पनि नेपाली सेनाको स्पेशल फोर्स, हात्ती, मोटरबोट र स्थानीयबासीले दिनभर खोजी गरेका थिए।
आइतबार बिहान खोजी गर्दै जाँदा नदी किनारमा एक जनाको शव भेटिएको निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणले जनाएको छ। हराइरहेका अर्का व्यक्तिको खोजी भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछ। निकुञ्जभित्र अनाधिकृत रुपमा प्रवेश गर्न पनि पाइँदैन। तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निउरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन्।