हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानमा हुस्सु-कुहिरो पनि लागेको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जानकारी दिएको छ।
बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा राति मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।