काठमाडौंमा एक पुरूषको शव भेटिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा सुकेधारा धोबीखोला करिडोर नजिक शव भेटिएको हो।
उक्त शव ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ५० वर्षीय अड्विर राई भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनको शव बुधबार साँझ सवा ८ बजे फेला परेको हो।
फोहोरको थुप्रोले पुरेको अवस्थामा शव फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो। तत्काल डिएसपीको कमान्डमा खटिएको टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडालगायत थुपारिरहेको ठाउँमा उनको शव भेटेको एसपी बोहोराले बताए।
'मृतकले लगाएको कपडा खोली हेर्दा टाउको, निधार र नाकमा धारिलो हतियारले चोट लागेको देखिएको छ,' एसपी बोहोराले भने।
उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बोहोराले जानकारी दिए।