कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।
विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ।
यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।
यस्तै, विभागले आज बिहान ५:३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ।
विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ।
लुम्लेमा पछिल्लो तीन घन्टामा ५३.८ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै लामापाटनमा ६०.६ मिलिमिटर, पोखरा विमानस्थलमा ४६.८ मिलिमिटर वर्षा भएको छ।
बिहानीपख वर्षा गण्डकी प्रदेशमा केन्द्रित भएको देखिन्छ।
दिउँसो काठमाडौंलगायत बागमती र गण्डकीमा भारी वर्षा हुने र आज राति पश्चिम नेपालमा अति भारी वर्षा हुने पूर्वानुमान छ।