नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको दाबी गरेका छन्।
खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गा ओगटेर राखेको थियो। जग्गाको भाडासमेत नतिर्ने र संरचना पनि खाली नगर्ने भएपछि बिहीबार युवा तथा खेलकुद मन्त्रालयले खाली गराउन काठमाडौं महानगरको सहायता लिएको थियो। महानगरले खड्का ल्यान्डका त्यहाँ रहेका संरचनामा डोजर चलाएको थियो।
त्यसपछि विज्ञप्ति निकालेर पूर्वमन्त्री खड्काले खड्का ल्यान्डमा आफ्नो कुनै स्वामित्व नरहेको बताएका हुन्।
‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मेरो कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ,’ उनले भनेका छन्।
केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि आफ्नो नाम जोडेर बदनाम गराउने र आफ्नो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेको पनि उनले आरोप लगाएका छन्।
‘मेरो जीवन खुला किताबजस्तो हो। मेरो हरेक कुरा पारदर्शी र जबाफदेयी छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।
खड्का ल्यान्डले पनि कम्पनीमा पूर्वमन्त्रीको स्वामित्व नरहेको दाबी गर्दै बिहीबार नै विज्ञप्ति निकालेको थियो।