अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।
अहिले यो मुद्दा विशेष अदालतमा दर्ता हुने प्रक्रियामा छ।
भ्रष्टाचार मुद्दा दर्ता हुन लागेका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्यविरूद्ध मुद्दा चलाइएको विशेष अदालतको स्रोतले जानकारी दिए।
यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेको छ भने डा. महत अल्जाइमर रोग लागेर विस्मृतिमा गएका छन्।
मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।
उनीहरूले विमानस्थलमा निर्माणमा ८ अर्ब ३६ करोड भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
पूर्वमन्त्रीसँगै ८ जना पूर्वसचिवविरूद्ध पनि मुद्दा लैजाने तयारी भइरहेको छ। यसमा विस्तृत विवरण आउन बाँकी छ।