खेलको अन्तिममा डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ।
घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको सुरुवातमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखियो।
खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै ग्रनडालाई अग्रता दिलाए।
९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए। २२ बर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए। बार्सिलोनाका स्ट्राईकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन्।
बराबरीसँगै बार्सिलोना सातौं स्थानमा उक्लिएको छ। चार खेलमा दुई जित र दुई बराबरी नतिजा निकालेको बार्सिलोनाको आठ अंक छ। पाँच खेलबाट तीन अंक बटुलेको ग्रानाडा १७औं स्थानमा छ।
शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ। दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ।