बायर लेभरकुजेनले जर्मन बुन्डेस लिगाको खेलमा १० खेलाडी बोचमलाई ५-० गोलले हराउँदै सबै प्रतियोगितामा अपराजित खेलको संख्या अर्धशतक पुर्याएको छ।
यो युरोपियन क्लबको सर्वाधिक अपराजित यात्राको रेकर्ड हो।
यदि लेभरकुजेनले सिजनको आफ्नो अन्तिम लिग खेलमा हार टारेमा अर्को रेकर्ड बनाउनेछ। अर्को शनिबार अग्सबर्गको मैदानमा हार टारे लेभरकुजेन बुन्डेसलिगा जितेर अपराजित हुने पहिलो टिम बन्नेछ।
लेभरकुजनले यसअघि नै बुन्डेस लिगाको उपाधि जितिसकेको छ।
बायर्न म्युनिखले सन् १९८६-८७ र २०१२-१३ को उपाधि सफलतामा एकपटक मात्रै हार बेहोरेको थियो।
अर्को साता बुन्डेसलिगा च्याम्पियन लेभरकुजेनले २२ मेमा डब्लिनमा युरोपा लिग फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्नेछ।
त्यसको तीन दिनपछि बर्लिनमा काइजरस्लाउटनविरुद्ध जर्मन कपको फाइनल खेल्नेछ।