काठमाडौं किकर्स फुटबल एकेडेमीको दुवै टोलीले जर्मनीको म्युनिखमा जारी बालबालिकाहरुको फुटबल प्रतियोगिता भिआर बैंक कपमा उत्कृष्ट प्रदर्शन गरेको छ।
शनिबारको सुरुवाती दुई खेलमध्ये किकर्सको दुवै टोलीले आफ्नो दोस्रो खेलमा जित हात पारेका छन्। यसमा किकर्सको पहिलो टोलीले प्रतियोगितामा एक गोल पनि नबेहोरी आफ्नो अपराजित यात्रा कायम राखेको छ। किकर्सको पहिलो टोलीले आफ्नो पहिलो खेलमा बराबरीको नतिजा निकालेको थियो। किकर्सको दोस्रो टोलीले भने आफ्नो पहिलो खेलमा पराजय व्यहोरेको हो।
आफ्नो पहिलो खेलमा एसभी सिलेन्बकसँग गोलरहित बराबरी खेलेको किकर्सको पहिलो टोलीले दोस्रो खेलमा एसभी अउबिङको दोस्रो टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। टोलीको यो महत्वपूर्ण जितमा आशुतोश महतरा र नोर्गेन शेर्पाले एक–एक गोल गरे।
यस्तै, उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दोस्रो खेलमा जितको लय समातेको किकर्सको दोस्रो टोलीले पनि एसभी जमरिङलाई २–१ कै गोल अन्तरले पराजित गरेको हो। टोलीको यो महत्वपूर्ण जितमा दुबै गोल गिनिस बसौलाले गरेका हुन्। काठमाडौंको टोली प्रतियोगिता खेल्न बिहीबार जर्मनी आइपुगेको हो।
नेपालबाट लगातार दोस्रो वर्ष जर्मनीको यो चर्चित युथ लिग खेल्न आइपुगेको नेपाली टोलीेले सोमबारसम्म प्रतियोगितामा थप अरु खेल खेल्ने छ। नेपालसहित जर्मनीको विभिन्न एकेडेमीबाट ७६ टोलीका १२०० खेलाडीले सहभागीता जनाइरहेको यस प्रतियोगिताबाट नेपाली खेलाडीहरुले पनि धेरै कुरा सिक्ने अपेक्षा किकर्सले गरेको छ।
“जर्मनीको यस प्रतिष्ठित प्रतियोगिताको सहभागीता हाम्रा लागि धेरै दृष्टिकोणबाट महत्वपूर्ण छ। खेलाडीहरुले जर्मनीको फुटबल सस्कृतिबारे केही सिक्ने छन्। अझ त्योभन्दा महत्वपूर्ण कुरा नेपाली खेलाडीहरुले आफ्नो जीवनमै महत्वपूर्ण हुने अन्य व्यवहार पनि सिक्नसक्छन् भन्ने हाम्रो अपेक्षा हो”, किकर्सका अध्यक्ष नविन पाण्डेले भने। जर्मनीको म्युनिखस्थित एसभी मोमेन्डोफले आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो।