काठमाडौं किकर्स फुटबल एकेडेमीको यू–१४ टोलीले जर्मनीको म्युनिखमा जारी बालबालिकाहरुको चर्चित फुटबल प्रतियोगिता भिआर बैंक कपमा दोस्रो दिन पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको छ । राउण्ड रोविन लिगको ६ खेल खेलिसक्दा किकर्सले अंक तालिकामा शिर्ष स्थान कायम गरेको छ ।
किकर्सको यू–१४ टोली रहेको समूहमा जर्मनीको विभिन्न एकेडेमीबाट आएका अन्य १० टोली समावेश छन् । ६ खेलबाट पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको यू–१४ टोलीको १६ अंक छ ।
किकर्सको यू–१४ टोलीले आइतबार बिहान खेलिएको पहिलो खेलमा एसजी एजेन्बाङलाई ५–१ गोल अन्तरले पराजित गर्यो । टोलीको जितमा नोर्गेल शेर्पा, आशुतोस महतारा, आर्यबीर सिंह र स्वर्णिम राइले एक एक गोल गरे । एक गोल आत्माधाती उपहार पाएको थिथो । यस्तै दोस्रो दिनको दोस्रो खेलमा किकर्सको यू–१४ टोलीले एससी उन्टरफाफ्फेनहोफेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । टोलीको यो जितमा अरहान बास्कोटा, आर्यबीर सिंह र गुगल बसौलाले गोल गरे ।
किकर्सको यू–११ टोलीले भने प्रतियोगिताको दोस्रो दिन आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेन । यू–११ टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा एमपी आम्परमुससँग २–१ तथा दोस्रो खेलमा एसभी औबीङको पहिलो टोलीसँग १–० गोलको हार व्यहोरेको छ ।