अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड घिमिरे नेपाल पुलिस क्लबमा प्रशिक्षक छन्।
यस्तै एन्फाले मनिष तिमिल्सिनालाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ। तिमिल्सिना यसअघि भारतीय आइ लिग क्लबको गोलकिपर प्रशिक्षक भइसकेका छन्।
अब दुवैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेसँग सहकार्य गर्नेछन्।
यसअघि नेपाली टोलीको सहायक प्रशिकक्षमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल थिए।
नियुक्त भएका दुवैले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाली राष्ट्रिय टोली अहिले युएईविरुद्धको फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलका तयारी गरिरहेको छ।
युएईविरुद्धको खेल घरेलु मैदानमा हुने भनिए पनि दशरथ रंगशालाको मापदण्ड नपुगेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले न्युट्रल भेन्यूमा खेल गर्न भनेको छ।
रंगशालाको मैदानको संरचना र सुरक्षामा प्रश्न गर्दै एएफसीले अर्कै देशमा खेल गराउन भनेको हो।
नेपाल र युएईबीच २४ जेठमा खेल हुने तय छ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेल गुमाइसकेको छ।
नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो। जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।