कोपा अमेरिकामा ब्राजिलले पहिलो जित निकालेको छ।
शनिबार बिहान पाराग्वेलाई ४-१ गोलले हराउँदै प्रतियोगितामा ब्राजिलले पहिलो जित निकालेको हो।
ब्राजिलले पहिलो खेल कोस्टारिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो।
आजको जितसँगै ब्राजिलको क्वाटरफाइनल सम्भावना बलियो भएको छ।
पाराग्वेविरूद्ध ४-१ को जित निकाल्ने क्रममा ब्राजिलले पहिलो हाफमा ३ गोल गरेको थियो।
३५ औं मिनेटमा भिनिसियस जुनियरले पहिलो अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा साभियो मोरेराले अग्रता दोब्बर पारे। पहिलो हाफको अतिरिक्त समयको पाचौं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाएका थिए।
४८ औं मिनेटमा पाराग्वेका ओमार एल्डरेटले गोल फर्काएका थिए।
६५ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमार्फत गोल निर्णायक भएपछि ब्राजिल ४–१ विजयी भएको हो।
८१ औं मिनेटमा एड्रियन एन्ड्रेस क्युवाले रातो कार्ड पाउँदै मैदान छाडेपछि पाराग्वे १० खेलाडीमा समेटिए पनि ब्राजिलले त्यसको लाभ लिन सकेन।
ब्राजिल ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अघिल्लो दुवै खेल जितेको कोलम्बिया ६ अंक सहित शीर्षस्थानमा छ।
अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग खेल्नेछ भने पाराग्वेले कोस्टारिकासँग खेल्नेछ।