‘ओइ भन्देको छु है मलाई रंग नलगा, म होली सोली मनाउँदिन।’ रंग लगाइदिन खोज्ने साथीहरुसँग अशोकले झर्किएर भन्यो।
'लगा न लगा अलिकति, रमाइलो त गर्नुपर्यो नि साथीहरुसित।'
'त्यही त भन्या। यत्रो होली जस्तो पर्वमा अलिकति पनि रंग नलगाए त के अर्थ भो?'
' नाइ यार सरि, यसपालि मैले मनाउँदिन होली। रंग नलगा है भन्देको छु।' रंग लगाइदिन खोज्ने साथीहरुभन्दा टाढा सर्दै उसले भन्यो।
'किन र जुठा परेको छ र परिवारमा?'
' छैन, त्यस्तो त।'
'अनि ?'
'जे भएपनि म होली मनाउँदिन यसपालि। ल है म लागे।' भन्दै अनेक रंगहरुले नचिनिने भएका उसका साथीहरुलाई त्यही छोडेर अशोक आफ्नो कोठातिर लाग्यो।
' हैन यसलाई के भएछ त्यस्तो यसपालि? होली मनाउँदिन भन्दै भाग्यो त। पोहोर साल होली मनाउन आइज है भन्दै सवैलाई बोलाउने उसैले गथ्र्यो। सवैभन्दा धेरै रंगहरु लिएर अरुलाई दल्दिदै सवैभन्दा रमाउने उ नै हुन्थ्यो। अहिले भने होली सोली मनाउँदिन पो भन्छ त?' उसका साथीहरुमध्ये एकले भन्यो।
बीचमै उसको प्रेमिकाको कल आउँछ। उसले उठाउँछ।
' हेलो।'
'हेलो अशोक, कता छौं?'
' म बाटोमा।'
' ए अनि एक्लै हो?'
'अँ एक्लै छु। '
'त्यसोभए, लभ यु है।'
' लभ यु यु टु छुच्ची। अरु भन के छ खवर?'
' ठीकै छ सवै। अनि तिमी होली नमनाउने यसपालि?'
' अहँ, मनाउँदिन।'
'उफ् यसले पनि होली किन नमनाउने भनेर हैरान गर्छे अब। बरु फोनै काटिदिन्छु आनन्द' भनेर फोन काटिदियो। किन फोन काटिदिएको भनेर फेरि फोन गर्छे भन्ने लागेर आफ्नो मोवाइल स्वीच अफ नै गरिदियो उसले।
ती साथीहरुवाट बल्लतल्ल मुस्किलले छुटकारा पाएर निस्केको अशोकसँग केही पर वाटोमा फेरि उसैका अरु साथीहरु भेटिन्छन्।
' ओइ अशोक, आज होलीको दिन कता हिड्दै थिइस्? आइज खेलम् होली।' एकजना मित्रले उसलाई हातमा रातो रंग अनुहारमा लगाइदिने मनसायले नजिक आयो।
' नजिक नआइज है भन्देको छु। मैले रंगसंग लाउदिन यसपालि।'
' के मजाक गर्छस् यार अशोक, होलीमा अलिकति रंग पनि नलगाएर हुन्छ?' भन्दै उसको अर्को साथी उसलाई रंग लगाइदिन अशोकको छेउ आयो।
' भनेको सुनिनस्, आइ एम सिरियस्। नजिक नआइज है। होली सोली मनाउँदिन यसपालि म।'
उसले झर्किएर भन्यो।
'साँझतिर यस्सो टुच्च लगाउने गर्थिस् पोहोर पह्रार त। कि यसपालि त्यो पनि नलगाउने हो?' अर्को एकजना साथीले भन्यो।
' अँ, त्यो पनि नगर्ने यसपालि।'
' हैन पश्चिमवाट घाम उदायो कि क्याहो? होली नमनाउने त्यो पनि अशोकले?'
धेरै बेर वाटोमा यसरी गफ मै अल्झिने हो भने केटाहरुले रंग दलेरै छाड्छन् भन्ने सोचेर उ जान्छु है हतार छ भन्दै हिड्यो त्यहाँबाट।
' हैन साच्चै पो रंग नलगाई हिड्यो त यो। के भएछ यसलाई। अचम्मै भो त। होली खेलम् है भन्दै सवैभन्दा रमाउने उ नै हुन्थ्यो त। यसपालि के भएछ यार यसलाई?' एकजनाले अशोकतिर इशारा गर्दै भन्यो।
'धन्न बचियो यिनीहरुवाट पनि। जहाँ पनि आफ्नै केटाहरु भेटिन पर्ने आजै बाटोमा। एकचोटी होली मनाउँदिन भनेपछि त मान्नुपर्छ नी यार, झन् रंग लगाइदे भनेजस्तो ठानेर नजिक पो आउँछन् त।' यस्तै कुरा सोच्दै उ वाटोमा हिड्दै थियो। यत्तिकैमा एक जनाले पछाडिबाट उसलाई लोलाले हान्यो। उसको ढाडमा लाग्यो।
पछाडि हेर्यो लोला हान्नेलाई देखेन। यता उता हेर्यो अरु मान्छेहरु हिडिरहेका छन् सवै रंगीन अनुहार लिएर। त्यसैले कस्ले उसलाई हान्यो भनेर भेउ पाउन गाह्रो भयो। उ निकै रिसायो। आफ्नै साथीहरुवाट बल्लतल्ल रंगहरुवाट बचेर हिडेको उसलाई कुनै अपरिचितले लोलाले पछाडिबाट हिर्काएपछि रिसले उकुसमुकुस बनायो। तर त्यो रिस पोख्ने मान्छे देखेन। गाली गर्नलाई लोला हान्ने मान्छे चिन्न नसकेकाले उसले मनमनै अनेक गाली गर्यो। पछि हातले छामेर हेरेको त धन्न त्यो लोलाभित्र कुनै रंग घोलेको रहेनछ, सादा पानि मात्र रहेछ। यो थाहा पाएसी उ केही हल्का महसुस गर्यो र लाग्यो छिटोछिटो आफ्नो कोठातिर।
बल्लबल्ल जोगिएर उ आफ्नो कोठामा पुग्यो।
' कता गएर आउनु भयो? आज होली नखेल्ने?' कोठाभित्र पस्नै लाग्दा घरवेटीले अशोकलाई सोधे।
'नाइ नखेल्ने यसपालि त।' उसले टाउँको हल्लाउँदै भन्यो।
'किन नी?' घरवेटीले फेरि सोधे।
घरवेटीलाई चाहिँ नभनी भएन भनेर उसले बताउन थाल्यो– तपाईको घरमा आउनुभन्दा पहिले पोहोर साल म अर्को ठाउँमा बस्थे। थरिथरिका रंगहरु साथीहरुलाई लगाइदिन मलाई निक्कै मज्जा लाग्थ्यो। अझ पछाडिवाट नदेखिने गरी मुखमा रंग दल्दिन झन् रमाइलो लाग्थ्यो र पोहोर पह्रार मैले यस्तै गर्थे। त्यति मात्रै होइन थुप्रै रंग घोलेको लोलाहरु बोकेर वाटोमा हिड्ने अपरिचितलाई लुकिलुकी पछाडिवाट हान्न निकै मज्जा आउँथ्यो। पोहोर साल यसैगरी म रमाइलो गर्दै साथीहरुसँग होली मनाउँदैथिए।
अनुहार र कपडा भरि अनेक रंगहरुले रंगीन शरीरका साथ साँझ म कोठामा पुगे। लुगा चेन्ज गरे। नुहाउन खोजे पानि नआएको तीन दिन भएको थियो। पानी छैन भन्ने हेक्का राखेनछु। थोरै पानी थियो त्यसैले पुर्याएर मुखसम्म धोए। सुत्नेवेलामा आँखा चिलाउन थाल्यो। झन् पछि झन् आँखा त पोल्न थाल्यो। असह्य भएपछि राति १० वजे एक्लै हिंडे अस्पताल। पछि चेकअप पछि थाहा भयो कि आँखा भित्र त एक घातक रसायनयुक्त रंग परेको रहेछ। साथीहरुले अनुहारमा लगाइदिएको रंग आँखाभित्र गएको रहेछ।
आँखाको विशेष उपचार गर्नुपर्यो। केहीदिन अस्पतालमै बसे र करिव एक महिना एउटा आँखामा पट्टी लगाएर बस्नुपर्यो। यो एक महिना मेरा लागि अभिषाप सावित भयो। न त कलेजमा राम्ररी पढ्न सके। न त परीक्षाको राम्ररी तयारी गरेर उत्तिर्ण हुन सके। यति सवै कुरा भएपछि संकल्प गरे कि, साला! अबदेखि खेल्दिन होली सोली।