राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले उत्कृष्ट संविधान बनाएकोप्रति छिमेकी मुलुक भारतले डाहा गरेको बताएका छन्।
प्रगतिशील पत्रकार संघ नेपालको तेश्रो राष्ट्रिय भेलाको शुक्रवार बुटवलमा उद्घाटन गर्दै उनले वषौंदेखि नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै आएको भारतले अहिले नेपालले आफैले संविधान बनाएको प्रति डाहा गर्दै संविधानमाथि हमला गरिरहेको दावी गरे।
लामो संघर्षपछि नेपाली जनताले आफ्नो संविधान आफै बनाउँदा छिमेकी मुलुकले संविधान माथि प्रहार गर्नु राम्रो पक्ष नभएको उनले बताए। उपप्रधानमन्त्री केसीले विगतमा बनेका संविधानभन्दा अहिलेको संविधान प्रगतिशील भएको दावी गरे।
‘देशमा रहेका विभिन्न थरीका दल र हरेक व्यक्तिलाई चित्त बुझ्दो र मान्य हुने खालको संविधान कहिल्यै पनि बन्न सक्दैन तर यो संविधान अधिकांश व्यक्तिका भावनालाई समेटेर बनाईएको छ,’उनले भने।
उनले छिमिकीको चाहना अनुसार संविधान र राज्य पुर्नसंरचना गर्नुपर्ने दवावका कारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता खतरामा परेको भन्दै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि आँच आउने गरी कसैसंग कसैले पनि सम्झौता गर्न नहुने बताए।