राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको आजको पहिलो बैठकले दिवसलाई तीन दिनसम्म देशव्यापी मनाउने निर्णय गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा आगामी वैशाख २३, २४ र २५ गतेसम्म दिवस मनाउने निर्णय भएको हो ।
बैठकको अध्यक्षता गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय पत्रकारिता दिवसको ऐतिहासिक महत्व भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैको सहयोगका लागि आग्रह गरे। उनले सरोकार भएका संस्थाबाट प्राप्त सुझावका आधारमा अर्को बैठकले विस्तृत कायत्र्रक्रम तय गर्ने बताए।
मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयले गोरखापत्र प्रकाशनको मिति वैशाख २४ मा दिवस मनाउने निर्णय गरेको थियो। नेपालको पुरानो अखबार गोरखापत्र १९९८ वैशाख २४ मा प्रकाशन भएको थियो।
मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले दिवसलाई तीन दिनसम्म्म देशव्यापीरुपमा मनाउन तयारी भएको जानकारी गराउँदै दिवसका अवसरमा आयोजना हुने आफ्ना कार्यक्रम आगामी वैशाख १० गतेभित्र पेस गर्न सबै निकाय र संस्थालाई आग्रह गरे ।
दिवसका अवसरमा सञ्चारमन्त्रीको सन्देश प्रशारण, निःशुल्क स्वास्थ्य परीक्षण, नेपाल राष्ट्र बैंकबाट रु दुई हजारको चाँदीको सिक्का प्रकाशन, हुलाक टिकट प्रकाशन, पुरस्कार वितरण, र्यालीलगायतका कार्यक्रमको तयारी भएको छ ।
बैठकमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले दिवसका अवसरमा राससको भवन शिलान्यास, पत्रकारिता तालिमलगायतका कार्यक्रमको तयारी गरिएको बताइन्।
गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले दिवसका अवसरमा सिक्का र टिकट प्रकाशनका साथै विशेषाङ्क प्रकाशन गरिने जानकारी दिए।
यस्तै नेपाल टेलिभिजन, रेडियो नेपाल, रेडियो प्रशारणका विभिन्न सञ्जालले पनि विभिन्न कार्यक्रम गर्दैछन् । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडीले दिवस मनाउन आवश्यक सहयोग हुने बताए।
बैठकले कार्यक्रम तथा नारा तयारीका लागि सूचना विभागका महानिर्देशक रघुराम विष्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मूल समारोह समितिमा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घलगायत विभिन्न संस्था र निकायका प्रतिनिधि आवद्ध छन् । रासस