‘मःम नखाने’ काउन्टर नजिक पुग्दा उनले भनिन्, ‘चिकेन स्यान्डविच र ब्ल्याक टी विदाउट सुगर।’ आग्रहभन्दा पनि अधिकार थियो उनको स्वरमा।
	 
	मैले मुस्कानले सहमति जनाएँ, उनको रोजाइलाई। उनीसँगको मेरो पहिलो भेट भएको  ठाउँ एन्डीज् होइन तर पनि यो ठाउँ मलाई रमाइलो लाग्छ ।
	 
	करिब एक वर्षअघि। बिरामीसँग छलफल गर्दै थिएँ म। जुम्लाबाट आएकी थिइन्, ती  बिरामी।
	 
	‘केले छोपेको हो मलाई?’ ६२ वर्षकी बिरामीले सोधिन्।
	 
	क्यान्सर हो, पाठेघरको मुखमा भएको छ। 
	 
	ओखती छैन?
	 
	छ।
	 
	लेखिदिनुस्।
	 
	‘खाने ओखतीले हुन्न, यसको उपचार भनेको रेडियोथेरापी र किमोथेरापी हो। दुई महिनाभन्दा लामो समयसम्म लगातार गर्नुपर्छ’, मैले भनें।
	 
	‘पैसा सकियो’, उनले दुखेसो पोखिन् ‘नेपालगञ्ज हुँदै यता आएको महिना  दिन बढी भयो।’
	 
	पीर नमान्नुस् । उपचार गरे सन्चो हुनसक्छ तपाईँको रोग – मैले सान्तवना दिएँ।
	 
	यहाँ घर छैन, बस्ने ठाउँ छैन।
	 
	‘जसरी भए नि उपचार गराउनुपर्छ’, मैले जिद्दी गरें।
	 
	कहाँ बस्ने? उनले सोधिन्।
	 
	‘टुँडिखेलमा जग्गा खाली छ, त्यहीँ घर बनाउने।’ एक बज्नै लागेको थियो, म इरिटेट हुँदै थिएँ।
	 
	आफन्तसँग सल्लाह गर्ने भन्दै महिला कुर्सीबाट उठिन्।
	 
	‘तपाईँको एटिच्युड राम्रो भएन’, कुनै युवतीले मलाई भनिरहेकी थिई। नौलो स्वर थियो त्यो, दाहिनेतिर टाउको घुमाउँदा नाकमा अड्किएको चस्माको माथिबाट आँखा उनको वक्षस्थलमा पुग्यो। काँपिरहेकोे उनको बोलीसँगै आवेशमा थिइन्। अन्दाजी तीस उमेर, आकर्षक पहिरन, घुम्रेको कैलो कपाल। पहिलो भेट त्यही थियो।
	 
	***
	पहिले मेरो चिनी भएको दुध चियाको बानी थियोे। ब्ल्याक टी विदाउट सुगर त उनलाई भेटेपछि मात्र हो। चियाको चुस्की लिँदै मैले सोधें–छोरीलाई कस्तो छ?
	 
	‘राम्री छे।’ मुखमा भएको स्याण्डबिच सकाउँदै भनिन्, ‘एनुवल एक्ज्याम आउन लाग्यो, खुब पढ्छे।’
	 
	छोरी होस्टेलमा बस्थी।
	 
	‘एक्जामपछि पोखरा घुम्न जाने योजना छ। अनि तपाईँ कन्पÞmेरन्समा जाने के भो? दिल्ली?’ 
	 
	‘मलाई एउटा पन्जाबी सुट ल्याइदिनू।’
	 
	‘कोसिस गर्छु’ सोच्दै भनें, ‘मैले जम्मा दुई दिनको यात्रा थियो। सपिङ गर्न नभ्याइएला कि।’
	 
	‘हैन, जसरी पनि’ ठूलो स्वरमा प्रतिवाद गरिन्। छेउको टेबुलमा बसेको जोडीले हामीतिर हेर्यो। म लजाएँ, मुस्काए मात्र।
	 
	उनले भनिन्, तपाईंको एटिच्युड राम्रो भएन।
	 
	***
	तपार्इँको एटिच्युड राम्रो भएन।
	 
	तपाईँ को नि?
	 
	बिरामी, जचाउन आएकी।
	 
	लञ्च ब्रेकको समय भयो, दुई बजेपछि आउनुस्।
	 
	दुई घण्टादेखि पालो कुर्दैछु। लञ्चपछि त ढिलो हुन्छ।
	 
	अरुलाई देखाए नि हुन्छ।
	 
	‘एकैछिन त हो नि’, युवतीले जिद्धी गरिन्।
	 
	तपाईँलाई भेट्नू भनेर दिल्लीको डाक्टरले भनेको थियो’ उनले रिपोर्टको मोटो फाइल टेबुलमा राखिन्।
	 
	मैले बुझें, आज लन्च ढिलो हुनेभयो। अनि जुम्लेली महिलालाई पनि फेरि काउन्सेलिङ गर्नुथियो, सुधारिएको व्यवहारका साथ।
	 
	***
	एक हप्तापछि उनी आइन् ।
	 
	‘गुड मर्निङ’, नयाँ रिपोर्टहरु मेरो टेबुलमा राखिन्।
	 
	नमस्ते।
	 
	‘कस्तो छ रिपोर्ट?’ उनले सोधिन्।
	 
	राम्रो छ।
	 
	अब के गर्ने?
	 
	एवेरोलिमुस् खाँदै गर्नुस्।
	 
	दिल्लीको डाक्टरले भनेकै उपचार जारी राख्ने योजना थियो त्यो मेरो।
	 
	हुन्छ। ह्यान्डब्यागबाट उनले एउटा प्याकेट झिकिन् र मेरो टेबुलमा राखिन्। ‘लन्च प्याकेट। अस्ति मैले गर्दा तपाईँले लन्च गर्न भ्याउनुभएन, अप्ठ्यारो न मान्नुस्, यो तपाईको लागि हो’ उनले भनिन्। स्वीकार्ने नस्वीकार्ने दोधारमा परें।
	 
	उनि फेरि आइन्, एक महिनापछि।
	 
	कस्तो छ अहिले तपाईलाई? मैले सोधें।
	 
	‘अरु त ठीकै छ, कहिलेकाहीँ टाउको दुख्छ र रिंगटा लाग्छ’, कुर्सी मेरो नजिकै सारिन्।
	 
	‘तर तपाईँलाई भेट्दा सन्चै महशुस हुन्छ’ उनले मुस्कुराउँदै भनिन्। उनले लगाएको अत्तरको बासना मादक थियो।
	 
	‘टाउकोको एमआरआई गर्नुपर्ला’ क्यान्सर कतै टाउकोमा पनि फैलिएको हो कि शंका लाग्यो मलाई।
	 
	‘खासै खराबी देखिएन,’ भोलिपल्ट एमआरआईको रिपोर्ट देखेर मैले भनें। उनले पनि लामो सास फेरिन् ढुक्क भएर। प्रफुल्ल मन त मेरो पनि भयो।
	 
	‘तपाईँ फेसबुकमा हुनुहुन्छ है?’  उनले सोधिन्।
	 
	छु, किन?
	 
	त्यतिकै।
	 
	बेलुकी घर पुग्दा ढिलै भइसकेको थियो। निदाउनुअघि सदाझैं एकछिन कम्प्युटरमा बसें, सामाजिक सञ्जाल खोतल्दै। अचानक मुटुको चाल बढेर आयो– फ्रेन्ड रिक्वेस्ट पठाएकी रहिछन्, फेसबुकमा।
	 
	औंलाहरु काँप्दै थिए तर पनि माउस थिचे – एसेप्ट।  रिजेक्ट वा इग्नोर विकल्प नै थिएन। उनका स्ट्याटस् पढ्न थालें। थुप्रै थिए, धेरैजसो लाइफ र सोसाइटी बारे नीति तथा उपदेश। रमाइला थिए। वाल फोटो पनि आकर्षक थियो। पिङ्क रिबन भएको। प्रोफाइल फोटो हेरें।
	राम्रै थियो तर त्यति राम्रो थिएन जति वास्तवमा उनी थिइन्।
	 
	म्यासेजको बीपले झस्कायो।
	 
	उनकै म्यासेज रहेछ– हेलो सर
	 
	हाई।
	 
	कस्तो हुनुहुन्छ?
	 
	सन्चै।
	 
	के गर्दै हुनुहुन्छ?
	 
	यत्तिकै, कम्प्युटर चलाउँदै।
	 
	डिनर लिनुभयो?
	 
	अँ।
	 
	चिया खानुहुन्छ?
	 
	कसले भन्यो– केटाहरु चिया खाँदैनन् भनेर?
	 
	हा हा, मैले बानी सोधेको हैन, प्रस्ताव पो गरेकी।        
	 
	दरबारमार्गको रेस्टुरेन्ट। झिसमिसे साँझ। मसँग चिया खान जाने हो? केही दिनअघि उनले प्रस्ताव राखेकी थिइन्।
	 
	ढोका छेउकै टेबुल रोज्यौं, हामीले। बाहिर झिलिमिली बत्ति बलिसकेको थियो।
	 
	‘ब्ल्याक टी विदाउट सुगर’ अर्डर लिन आएको वेटरलाई उनले भनिन्।
	 
	‘मेरो लागि मिल्क टी विद सुगर’, मैले अर्डर गरें।
	 
	‘न राजा रहे न त राजदरबार, तर पनि ठाउँ अझै दरबारमार्ग’ हाँस्दै  उनले गफ गर्ने कुरा झिकिन्। 
	 
	रातो पोसाकमा उनी असाध्यै राम्री देखिएकी थिइन्। उनलाई नियाल्दै बसें म।
	 
	‘नेक्स्ट विक यहाँ स्ट्रीट फेस्टिबल छ, हेर्न आउनुपर्छ’, गफ अगाडि बढाउने मेसो थियो त्यो।
	 
	‘म त भ्याउँदिन’, मैले भनें। त्यो सत्य थियो र अर्को सत्य के थियो भने त्यस्तो फेस्टिबलमा जान मन पर्दैनथ्यो पनि। चिया आइसकेको थियो।
	 
	‘कस्तो रमाइलो हुन्छ।  फुड, ड्रिंक, क्राउड, डान्स ...... सबैथोक। अनि लाइभ शो पनि’ उनले थपिन्  फेस्टिवलका विशेषताहरु। मानौं उनी आयोजक नै थिइन् वा भर्खरकी टिनेजर। 
	 
	‘तपार्इँले आराम गर्नुपर्छ। धेरै शारीरिक थकान लिनुहुँदैन, भीडमा नगएकै राम्रो।’ मैले डाक्टरी पारामा भनें।
	 
	‘बाँच्न चाहन्छु म, आफ्नो जिन्दगी जिउन चाहन्छु’,  प्रतिवाद गरिन्। उनको अनुहारमा हेरें, दृढता थियो। आँखामा अभिलाषा।
	 
	चिया अघि नै सकिसकेको थियो।
	 
	‘बोर त भएन?’ पैसा तिरेर बाहिर निस्किने बेला उनले मेरो हात समाउँदै सोधिन्।
	 
	‘नाई, आई रियेली एन्जोइड’ संयमित हुँदै मैले तुरन्त भनें। उनको स्पर्शको न्यानोपनले मेरो शरीरमा कम्पन उत्पन्न गराउँदै थियो।
	 
	‘एउटा कुरा भनूँ?’ उनले सोधिन्। म अकमकिएँ। के भन्ने हो भनेर तर स्वीकृतिमा टाउको हल्लाएँ।
	 
	‘ब्ल्याक टी विदाउट सुगर खाने गर्नुस्, हेल्थ राम्रो रहन्छ’ हामी दुबै हास्यौं।
	 
	मैले उनको बारेमा अहिलेसम्म पाएको जानकारी यस्तो थियो।
	 
	उमेरः ३३ वर्ष
	माइतीः विराटनगर
	घरः कलंकी 
	जागिरः नाम चलेको एनजीओमा अधिकृत
	विवाहः २३ वर्षको उमेरमा
	सन्तानः एक छोरी
	रोगः क्यान्सर
	श्रीमान्ः क्यान्सर रोग लागेको दुई वर्षपछि छाडेर गएको।
	 
	बिहान ०८.३० बजे त्रिभुवन विमानस्थलमा ओर्लिसकेको थिएँ। एउटा ह्यान्डक्यारी लगेज मात्र थियो।  दिल्लीमा शपिङ गर्न समय मिलेको थिएन। एयरपोर्टबाट सोझै अस्पताल नै जाने कुरा थियो, ट्याक्सी चढें। आखिर मैले उनलाई बिहानै अस्पतालमा भेट्ने बाचा गरेको थिएँ। तैपनि फोनमा कुरा गर्ने इच्छा आयो। उनको फोन उठेन, जति पटक गरेपनि। असजिलो भयो, ऐठन। कतै... कतै... मनमा कुरा खेलाउँदै उनलाई सम्झें।
	 
	नाम............। रोग बाईल्याटेरल ब्रेस्ट क्यान्सर, ट्रिपल नेगेटिभ, पोस्ट बाइल्याटेरल म्यास्टेकटोमी पोस्ट किमोथेरापी पोस्ट रेडियोथेरापी, प्रोग्रेसिभ डिजिज, ओन क्लिनिकल ट्रायल।
	 
	ट्रिङ....... ट्रिङ ...... मोबाइलको घन्टीले झस्कायो। ‘सरको बिरामी राती इमर्जेन्सीमा आउनुभएको थियो,’ फोनमा मेरो जुनियर डाक्टर बोल्दैथियो, ‘म्यासिभ ब्रेन ह्याम्रेज भएको रहेछ, औषधिको साइड इफेक्ट हो कि, कुड नट बी रिभाइभ्ड, हामीले राति नै डिक्लेयर गर्यौं।’
	लगेजमा पन्जाबी सुट थिएन। ट्याक्सीको पनि गन्तब्य बदलिसकेको थियो।