यही चैत १७ गते एक युवती श्रीमानका साथ काठमाडौं प्रहरी परिसरमा पुगिन्। चिन्तित मुद्रामा प्रहरी कार्यालय पुगेकी उनले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापासमक्ष आफूलाई परेको समस्या सुनाइन्।
थापाले लिखित उजुरी दिन आग्रह गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाए। लगत्तै मातहत निकायलाई खबर गरी घटनाबारे जानकारी गराए। प्रहरीले त्यसको भोलिपल्ट स्वयम्भुबाट एक युवकलाई पक्राउ गर्यो।
मकवानपुर आग्राका २५ वर्षीय रबिन गोले तिनै युवतीको उजुरीमा स्वयम्भुबाट पक्राउ परेका हुन्। ती युवतीले आफ्नो फेसबुक ह्याक गरेर आफ्नै अश्लिल फोटो फेसबुकमा सार्वजनिक गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी परेपछि मोबाइल फोन ट्रयाक गरेर प्रहरीले उनलाई कोठाबाट नै समातेको हो।
प्रहरीले अनुसन्धान गर्दै जाँदा गोलेले ती युवतीको फेसबुक ह्याक गरेर म्यासेज बक्समा रहेका अश्लिल तस्बिर नक्कली आइडी बनाएर पोस्ट गरेको खुल्न आएको छ। काठमाडौंको सामाखुसीस्थित एक कलेजमा सँगै पढेको र त्यही बेलादेखि नै ती युवतीसँग आफ्नो प्रेम रहेको गोलेले प्रहरीसामु बयान दिएका छन्। लामो समय आफूसँग प्रेम गरेर धोका दिएको र बदलामा उनको फेसबुक ह्याक गरेर अश्लिल फोटो फेसबुकमा पोस्ट गरेको गोलेले बताएका छन्।
'श्रीमानसँग गर्ने गोप्य च्याट र अश्लिल फोटो सार्वजनिक भएपछि युवती मानसिक तनावमा थिइन्, हामीले छिटोभन्दा छिटो काम गरेर दोषीलाई पक्राउ गर्यौं,' एसएसपी थापाले भने, 'त्यही फोटोलाई हतियार बनाएर ती युवकले बेलाबेला युवतीलाई यौन सम्पर्कका लागि दबाब दिने, फोटो सामाजिक संजालमा पोस्ट गर्ने जस्ता धम्की दिने गरेको थियो।' गोलेलाई साइबर क्राइममा प्रहरीले मुद्दा चलाएको छ।
काठमाडौं प्रहरी परिसरमा महिनामा साइबर क्राइमसम्बन्धी ४ देखि ६ वटासम्म उजुरी पर्ने गरेका छन्। महानगरीय अपराध महाशाखामा महिनामा १० वटासम्म यस्ता उजुरी आउँछन्। ललितपुर र भक्तपुर प्रहरी परिसरमा महिनामा २ वटाजति यस्ता उजुरी आउने प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले प्रविधि अपनाएर अपराध गरे पनि प्रहरीले नछाड्ने बताए। सामाजिक संजालको प्रयोगबाट कसैले दु:ख दिएको छ भने प्रहरीमा आएर उजुरी दिन उनले सबैसँग आग्रह गरे।