सत्तारुढ नेकपा एमालेको पोलिट्ब्युरोको बैठक पार्टी मुख्यालयमा सुरू भएको छ।
पार्टीको नवौं महाधिवेशन भएको २१ महिनापछि एमालेको पोलिट्ब्यूरोको बैठक दोस्रो पटक बसेको हो। एमालेको विधानमा पोलिट्ब्युरोको बैठक हरेक तीन महिनामा बस्ने व्यवस्था छ।
बैठकमा विभिन्न आठ वटा एजेण्डा पेश भएका छन्। केन्द्रीय विभाग, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यको मनोनयन, केन्द्रीय कार्यालय निर्माण लगायतका विषयलाई एजेण्डाको रूपमा राखिएपनि बैठकमा विभागका सदस्यहरुको मनोनयनको ठोस प्रस्ताव भने पेश भएको छैन।
पोलिट्ब्युरोको बैठक पहिले बसेको स्थायी कमिटीको बैठकमा मनोनयन गरिने सदस्यको बारेमा सहमति हुन नसकेपछि ठोस प्रस्ताव पेश हुन नसकेको हो। स्थायी समितिले विभिन्न ३१ वटा विभागमा रहने सदस्यहरुको सूची तयार पार्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङ्ग र मोर्चा संगठन विभाग प्रमुख गोकर्ण विष्ट रहेको कार्यदललाई दिएको छ।
कार्यदलले विभागका प्रमुखहरुले पेश गरेका नामलाई आधार मानेर विभागीय प्रमुखहरुसँग समेत छलफल गरेर मनोनयन गरिने सदस्यहरुको सूची तयार पार्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। एमालेमा स्थायी समितिले गरेका निर्णय पोलिट्ब्युरो हुँदै केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ। पोलिट्ब्युरो बैठकमा स्थायी कमिटीले यसअघि गरेका निर्णय अनुमोदनका लागि पेश गरिएका छन्। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १२ पृष्ठ लामो राजनीतिक एवं सांगठनिक प्रस्ताव पेश गरेका थिए।
पार्टी अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संविधान जारी हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै संविधानलाई कारण देखाएर भारतले लगाएको नाकाबन्दीका कारण सरकारको काम कारवाही प्रभावित भएको बताए। उनले आफूले मुलुकको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेपनि भारतले नाकाबन्दी लगाएर ठेस लगाइदिएको भन्दै कठिन परिस्थितिमा पनि राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको बताए।
अध्यक्ष ओलीले नाकाबन्दी हटेको, संविधानका बारेमा भारत भ्रमणका बारेमा प्रष्ट पारेको तथा चीनसँग पारवहन तथा यातायात सम्झौता भएकाले अब विकास निर्माणका कामले गति लिने तर त्यसका लागि आफूलाई पार्टीभित्रबाट पूरै सहयोग चाहिने बताएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।
अध्यक्ष ओलीले राखेको राजनीतिक एवं सांगठनिक प्रस्तावमाथि पोलिट्ब्युरो सदस्यहरुले बुधबार धारणा राख्ने छन्। एमालेले पोलिट्ब्युरो बैठक लगत्तै चैत २७ गतेदेखि ३० गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।