नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। तत्काली सभापति सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेताका लागि बुधवार निर्वाचन हुन लागेको हो।
दलको नेताको लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा उत्रिएका छन्। दलको नेताको निर्वाचन विहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए। उनका अनुसार दलको नेता चयनको निर्वाचन विद्युतीय मतदानबाट हुने भएकाले मतदान सकिएको केहीबेरमै नतिजा आउने छ।
एक महिना अघि भएको पार्टीको १३ औँ महाधिवेशनमा ५ सय २६ मतले देउवासँग पराजित भएका पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेस संसदीय दलको निर्वाचनमा मत संख्या २०७ मध्ये दलको नेतामा निर्वाचित हुन एक सय ४ मत ल्याउनु पर्ने हुन्छ।
यसअघि तत्कालीन सभापति कोइरालासँगको प्रतिस्पर्धामा देउवा पराजित भएका थिए। त्यतिबेलाको निर्वाचनमा कोइरालाले १ सय ५ मत पाएका साथ विजयी भएका थिए भने देउवाले ८९ मत प्राप्त गरेका थिए।
पौडेल पक्ष झन्डै दर्जन सांसदले सभापति देउवालाई समर्थन गर्ने भनेर खुलेरै लागेपछि देउवालाई सुविधाजनक बुहमत पुग्ने देखिएको छ।
यस्तै १३ औं महाधिवेशनमा सभापतिमा चुनाव लडेका कृष्णप्रसाद सिटौला पक्षले पनि दलको निर्वाचनमा देउवालाई सहयोग गर्ने वताएकाले पनि देउवा बलियो देखिएका छन्।